वरिष्ठ गायक सीताराम पोखरेल रेडियो प्रसार सेवा विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।

सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रसार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताउनुभएको छ ।

२०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएका पोखरेलका एक दर्जन जति एल्बमका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् ।

उहाँ आफ्ना गीत आफैँ मोडलिङमा पनि देखिनुहुन्छ भने ठूला तथा सानापर्दाका चलचित्रमा अभिनयसमेत गर्दै आउनुभएको छ । कार्यक्रम व्यबस्थापन संघका वरिष्ठ सल्लाहकार समेत रहनुभएका पोखरेल विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

देश तथा विदेशका थुप्रै अवार्डबाट सम्मानित पोखरेलका भिडियोहरुको चर्चा सधै हुने गर्छ ।