सुन चाँदी व्यवसायी नरेन्द्रकुमार गुप्ताले आफूले राष्ट्र बैंकको सुन खरिदको अहिलेको प्रावधानअनुसार सुन खरिद गर्दा सिण्डिकेट कायम भएको र अवैध सुनको कारोबार भएको विषय उठाउँदा सुनचाँदी व्यवसायी संघबाट निकालिएको गुनासो गरेका छन् । उनले त्यसका विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएको समेत बताएका छन् ।

उपाध्यक्षसमते रहेका गुप्तालाई संघको विधि विधान विपरीत जथाभावी बोलेको भन्दै नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सुन खरिद गर्न राष्ट्र बैंकले तीनवटा संघको सदस्य हुनै पर्ने कानुनी व्यवस्था बनाएको छ । त्यसका विरुद्ध पनि सर्बोच्च अदालतमा आफूले रिट दायर गरेको गुप्ताले बताएका छन् ।

गुप्ताले स्वतन्त्र रुपमा सुन व्यवसायीले सुन खरिद गर्न पाउनुपर्ने माग राखेर विभिन्न सञ्चारमाध्यमबाट आफ्ना कुराहरु राखेको भन्दै संघले साधारण सदस्यसमेत नरहने गरी हटाइदिएको छ । यदी उनी सदस्य कायम नहुने हो भने उनले सुन खरिद गर्न नपाउने विद्यमान कानुनी व्यवस्था छ ।

उनले जारी गरेको एक विज्ञप्तिमा अहिलेको कानुनी व्यवस्थाले सुनचाँदीको अवैध कारोबार बढेको औंल्याएका छन् ।

त्यसाे त सुनचाँदी व्यवसायीले नै रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको केही महिनाअघि संयुक्त विज्ञप्ति जारी गर्दै गुप्तामाथि छानबिन गर्न सरकारी नियकासमक्ष माग गरेका थिए ।

केही महिनाअघि विशाल बजारको रिद्धिसिद्धि ज्वेलरी हाउस नामको सुनचाँदी पलसका सञ्चालक गुप्ता विवादित व्यक्ति भएको र उनले सञ्चार माध्यममा व्यवसायीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै दुबै महासंघले उनीमाथि छानविन गर्न माग गरेका थिए ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहिबार बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो

अहिले देशको मुख्य विमानस्थलमा बेला बेलामा सुन लुकाएर ल्याएका घटनाहरु तीब्र रुपमा सार्वजनिक भएका छन् ।