उच्च अदालत पाटनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई थुनामा राख्ने आदेश उच्च अदालत पाटनले सदर गरेको छ । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालतले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेको हो । न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुल अहिले भन्सार चोरी पैठारी र सङ्गठित अपराध कसुरमा थुनामा छन् । राहुललाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटी माग्ने जिल्लाको आदेश पनि सदर गरेको छ । राहुल चीनबाट हुने सुन तस्करी प्रकरणमा मुछिएका थिए । राजस्व अनुसन्धान विभागले समातेको ६० किलो सुन तस्करीका प्रकरणका मुख्य योजनाकार मानिने दावा छिरिङसहितसँग राहुलको उठबस खुलेको थियो ।

राहुल सुन तस्करीमा मुछिएको विवरणसहितको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार गरेको थियो । त्यहीआधारमा उनीविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराध अभियोगमा मुद्दा चलेको थियो ।