नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाट्न हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।

कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन् । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।