डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो ।

२१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुनुहुन्छ । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो’, भन्नुभयो ।

समारोहका प्रमुख अतिथि महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको भन्दै यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने जिकिर गर्नुभयो ।

डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक, एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड जस्ता दश संस्था बाट २१/२१ विधामा एकसाथ रेकर्ड बनाउनु भएको हो ।

उहाँले वल्र्ड रेकर्ड प्राप्त गरेका २१ वटा फरक विधामा संगीतका विभिन्न तालहरू (क्लासिकल बिट) सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरूको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्टलगायतका रहेका छन् ।

कार्यक्रममा नेपाली गीत सङ्गीतमा लागेकाहरूलाई डा. उपाध्यायले गरेका कार्यले गर्व महसुस भएको गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणी देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपाध्यायले नेपाली गीत सङ्गीत जगतलाई विश्वमै पुर्‍याएर महत्वपूर्ण योगदान दिनुभएको छ । यो निकै सराहनीय कार्य हो र हामी सबैले गर्वको कुरा हो ।’ हामी नेपाली पहिला खुकुरीका कारण विश्वमा चिनिए पनि अब कलमको माध्यमबाट पनि विश्वमा चिनिन लागेको उहाँले बताउनुभयो ।

यस्तै अनेसासका निर्वतमान अध्यक्ष राधेश्याम लेकालीले कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन सफल हुनुभएकोमा बधाई तथा शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘यि रेकर्ड डीआरलाई मात्रै नभएर देशको लागि गौरवको कुरा हो ।’

यस्तै माधव खनाल, हेमप्रभावस अधिकारीलगायतका अतिथिले डा. उपाध्यायले नेपाली साङ्गीतिक क्षेत्रलाई विश्वमै चिनाउने लक्ष्यका साथ काम गरेको बताउँदै बधाई तथा शुभकामना दिनुभएको थियो ।

डा. उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले कार्य गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको बताउनुभयो । आफ्ना लागि र देशका लागि आफूले यो सबै गरिरहेको बताउँदै उहाँले चाडै नै एकसय रेकर्ड पुर्‍याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा महानिरीक्षक खनाललाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी, राजेन्द्र लुईंटेल, कोरियोग्राफर तथा निर्देशक माइकल चन्दलाई अमेरिका बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो ।

सो अवसरमा साहित्यकार विनोद दाहाल, डीआर राई, राजबाबु श्रेष्ठ सागर लगायतका साहित्यिक व्यक्तित्व र अन्य विशिषट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डा. उपाध्याका २५ एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् । तस्बिर : सुरेन्द्र थापा