थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो  ।खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० गोल अन्तरको अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको ८२ औँ मिनेट बंगलादेशले एक गोल गर्दै खेल २-१ को स्थितिमा पुगेको थियो ।

बंगलादेशका १० नम्बरका खेलाडी मामुबुल रहमानले गोल गरेका थिए । पहिलो हाफ निकै शानदार खेलेको नेपालको प्रदर्शन दोस्रो हाफमा केही फितलो देखिएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल गर्न नसक्दा नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।