प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्। सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजि कार्य भइरहेको बताए। उनले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए।  उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ। रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो। अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजि, अध्ययन भइरहेको छ। त्यो परिस्थिति सामना गर्नुपरेको छ। कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन्। युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ। विगतमा देख्न व्यहोर्न पर्दैन थियो। अहिले परिरहेको छ।’