विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई आधार मानेर नेपालले कतारलाई लगातार हमासले बन्दी बनाएका जोशीलाई रिहा गर्नको लागि पहल गरिरहेको छ । आइतबारबाट सुरु भएको २१ औं दोहा फोरममा सहभागी हुन गएको अवशर पारेर परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग भेटवार्ता गर्दै जोशीको रिहाईको लागि पहल गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको छिटोभन्दा छिटो रिहाईको लागि पहल गरिदिन आग्रह गरे । जवाफमा खुलाइफीले नेपाली नागरिक जोशीको रिहाईको लागि लगातार रुपमा लागिरहेको जानकारी दिए ।

हमास विद्रोहीले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै इजरायलसहित विभिन्न मुलुकका नागरिकहरुलाई बन्दी बनाएर लगेको थियो । त्यसमा नेपालका जोशी पनि सामेल छन् । जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । अक्टोबर ७ को आक्रमणमा सोहि कार्यक्रम अन्तरगत गएका १० जना नेपालीको घटनास्थलमा मृत्यु भएको थियो । मन्त्री साउदले यस अघि नेपालका लागि इजयलका राजदूत हनान गोदरसँग पनि मंसिर ७ मा जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।