नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई एमालेमा आउन आग्रह गरेका छन् । उनले काठमाडौँको फोहोर व्यवस्थापनमा सरकारले साथ नदिएको भन्दै एमालेले साथ दिने बताए । आज प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह गरेका हुन् । यसो गरेमा एमालेले काठमाडौको फोहोर व्यवस्थापनमा सघाउने बताए ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले भने, ‘काठमाडौँको फोहोर नउठेको आज ७१ दिन भयो । शहर नै डुङडुङती गन्हाउने अवस्था भएको छ तर सरकारलाई गह्नाएन । प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । यो सरकारले कुनै पनि पहलकदमी गर्दैन, हुती पनि छैन ।’ उनले फोहरका कारण झाडापखाला, हैजा लगायत रोग फैलने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।वर्तमान सरकार उदासिन रहेको भन्दै उनले बालेन शाहलाई सरकारको भर नपरेर एमालेसँग सहकार्य गर्न अनुरोध गरे । एमालेसँग भिजन र दृष्टिकोण भएकाले एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको बताए ।