बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ ।

पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० बर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७० औ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा बरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए । उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अबस्थामा सम्मान गर्नुले यसको महत्व झल्कीएको चर्चा गरे । प्याकुरेलले उतिबेला सुप्रसिध्द गायक नारायण गोपाल अस्पतालको शैयामा हुँदा उनका विषयमा लेखिएका धारावाहिक लेखहरु देशान्तर साप्ताहिकमा प्रकाशित भएको सम्झना गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले किशोर नेपालको पत्रकारिताबाट कैयौं पत्रकारहरु जन्मिएको उल्लेख गर्दै ७० बर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उहाँको जीवनबाट धेरै सिक्नुपर्ने बताए । उनले एकलाख राशीको पुरस्कार पत्रकारितामा थप भएको भन्दै महत्वपूर्ण पुरस्कार स्थापना भएकोमा मिडिया इन्टरनेसनललाई धन्यवाद दिए ।

त्यस्तै पत्रकार शेखर खरेलले किशोर नेपालको पत्रकारितालाई कालजयी गायक बच्चु कैलाश र रनजीत गजमेरसँग जोडेर चर्चा गरे । जन्मदिनको अवसरमा पत्रकार नेपाललाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । किशोर नेपाल नेपाली पत्रकारिताको मेरुदण्ड भएको चर्चा गर्दै आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ उनी जस्तै सक्रिय पत्रकारलाई प्रदान गरिने र त्यसको छनौट नेपाल पत्रकार महासंघ सहितको समितिले गर्ने बताए ।

कार्यक्रममा रमेश तुफान, प्रकाश रिमाल, रामप्रसाद दाहाल लगायत बरिष्ठ पत्रकारहरुले पत्रकार किशोर नेपालको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा बरिष्ठ पत्रकार किशोर नेपालले यस पुरस्कारको राशीले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आफ्नो नामबाट मिडिया इन्टरनेसनलले एकलाख राशीको पुरस्कार स्थापना गरेको प्रति धन्यवाद दिए ।