कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको गीत ‘चाँदनी चाँदनी’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

स्वरमा डा. उपाध्यायलाई ममता गुरुङले साथ दिनुभएको छ भने अभिनयमा समृद्धि श्रेष्ठले । गीतको सम्पूर्ण भिडियो एउटै झोलुङ्गे पुलमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ ।

अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार एउटा झोलुङ्गे पुलमा शब्द, सङ्गीत, स्वर, निर्देशन र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो ।

यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य सात एल्वम छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।