विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा डा.उापध्यायको नै स्वर रहेको छ ।

गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार डा. उपाध्यायले भन्नुभयो । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको बताउनुभयो ।

माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतलाई देखाइएको छ ।

अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

कीर्तिमानी गीतकार डा. उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यसअघिघ गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको केहीदिन अघि राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभएको थियो ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा सात एल्वम छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।