यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो ।

‘प्रेमिल जोडीका लागि प्रेमदिवसको छेको पारेर गीतको भिडियो सार्वजनिक गरेका छौँ, एउटा राम्रो गीत र भिडियो बनेको छ, सबैले मनपराइ दिनुहुनेछ भन्नेमा आशावादी छौँ’, निर्देशक शाहीले भन्नुभयो ।