-डा.डिआर उपाध्याय,

दसौं महाधिवेशनमा एमाले यति बेला नेकपा एमाले दसौं महाधिवेशनमा छ। चितवनमा हुन गइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले कस्तो हुने बहस भइरहेको छ। त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउने गरी दसौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाई हो। एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ ।

देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनु पर्छ । आजको दुनियामा दुरदर्शी बिनाको व्यक्तिले राजनीतिक नेतृत्व गर्न सक्दैनन्। १०औं महाधिवेशनले एकताको सन्देश दिन सक्नु पर्छ । महाधिवेशनले मूलतः राष्ट्रवाद र समृद्धिको कार्यक्रमलाई कार्यान्वयन गर्न विचार र एकताबद्ध नेतृत्वको निर्माण गर्नुपर्छ। महाधिवेशनमा पार्टी नेतृत्वमा दाबी गर्न सक्ने र निर्वाचित हुन पाउने लोकतान्त्रिक एवं नैसर्गिक अधिकार सहभागी सबै प्रतिनिधिलाई बराबर रहन्छ। प्रतिनिधिले अधिकारको प्रयोग गर्न पाउनु पर्छ ।

पार्टी वा आन्दोलनलाई थप बलियो बनाउन सबै जिम्मेवार बन्नु पर्छ । पार्टीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ। एकताका आधारहरू र नयाँ सन्दर्भमा पार्टीको विकास गर्ने कुरामा बिशेष ध्यान दिनु पर्छ । लोकतन्त्रको नाममा पार्टी आन्दोलनलाई नै कमजोर बनाउँने काम कसैले गर्नु हुदैन । महाधिवेशनमार्फत एकताबद्ध नेतृत्व चयन गर्नुपर्छ। त्यसो गर्दा नै पार्टीमा वैचारिक तथा भावनात्मक एकता पैदा हुन जान्छ ।

धेरै कम्युनिस्ट नामका पार्टीहरूको अस्तित्वका कारण आमजनतामा भ्रम पैदा भइरहने र कम्युनिस्ट आन्दोलन प्रभावकारी बन्न नसकेको अवस्था छ। स्थापना कालदेखि नै टुटफुट र एकताको चरणबाट गुजँ्रदै आउँदा पनि एमालेले आमजनतामा आफूलाई निरन्तर मूलप्रवाहको रूपमा उभ्याउन सफल भएको छ। एमालेलाई नेपाली कम्युनिस्ट वा वामपन्थी आन्दोलनको मूलप्रवाहको रूपमा स्थापित गर्नेछौं भनेर १०औं महाधिवेशनले एउटा नयाँ संकल्प गर्नुपर्छ। अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादमा आधारित समृद्ध नेपाल सुखी नेपालीको सवाललाई यतिबेला दह्रोसँग पक्डिनुभएको छ। तीन वर्षको सरकार सञ्चालन अवधिमा धेरै पक्षको असहयोगका बाबजुद पनि उहाँले वास्तविक राष्ट्रवाद र समृद्धिको मूल्य मान्यतालाई छाड्नु भएन। वर्तमान संविधानले समाजवाद उन्मुख यात्रा तय गरेको छ। संविधानमा अवश्य पनि केही न केही कमजोरी छन्। ती कमजोरीलाई पार्टीले आमजनताको सहभागितामा उचित विधि र पद्धतिका माध्यमबाट हल गर्दै जान सक्नु पर्छ ।