भारतले आफ्नो देश भ्रमण गर्ने सवै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए ।

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ ।

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारिन्टिनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने सर्त राखेको थियो ।