आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन् । विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन् । नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन् ।

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए । यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । बिहान ६ देखि १० बजेसम्म कक्षा ११ र १२, बिहान १० देखि दिउँसो १ बजेसम्म आधारभूत तह, दिउँसो १ देखि ४ बजेसम्म कक्षा ९ र १० सञ्चालन गर्न थालिएको विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले बताइन् ।

मास्क, सेनिटाइजर र भैतिक दूरी अनिवार्य रूपमा कायम गरिएको छ,’ नेपालले भनिन्, ‘बालबालिका र तिनका अभिभावकहरूमा कोभिडले निकै सचेतना जगाएको छ ।’ विगतमा केही लापरबाही गरे पनि अहिले अभिभावकहरू नानीबाबुको सिकाइ निरन्तर गराउन र स्वास्थ्य सुरक्षाको ख्याल राख्न सचेत बनेको देखिएको अनुभव उनले सुनाइन् ।

विद्यालयमा भेटिएकी सविता चौधरीले नानीलाई स्कुलमा भौतिक रूपमा पठाउन पाउँदा निकै खुसी लागेको बताइन् । आफू काममा जानुपरेकाले छोराको अनलाइन कक्षा राम्ररी सञ्चालन हुन नसकेको गुनासो उनमा रहँदै आएको थियो । तर, आइतबारदेखि स्कुल खुलेपछि समस्या दूर भएको उनको भनाइ थियो ।

‘घरमा बाबुलाई मोबाइल छाड्नुपर्ने, उसले अनलाइन कक्षाको भिडियो अफ गरेर गेम खेल्न थाल्ने रहेछ । अनलाइन कक्षाले छोरालाई मोबाइलको किरो पो बनायो,’ सविताले भनिन्, ‘बजार सबै खुले । म काममा जानुपर्‍यो । बच्चालाई हेरिराख्ने कि काममा जाने समस्या आइतबारबाट दूर भयो ।’ स्कुलले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको उनले जानकारी दिइन् ।

बच्चाहरू घरभन्दा सुरक्षित रहने भएकाले स्कुल निरन्तर लाग्नुपर्नेमा उनले जोड दिइन् । सोही स्कुलको कक्षा २ मा पढ्ने आयुष श्रेष्ठ पनि स्कुलमै रमाइलो भएको सुनाउँछन् । ‘घरमा जेल बसेजस्तो लाग्न थालिसकेको थियो,’ उनी भन्छन्, ‘स्कुलमा गीत गाउन, खेल्न, पढ्न र साथीसँग रमाइलो गर्न पाउँछ । मलाई स्कुलमै रमाइलो लाग्छ । मास्क मैले लगाएकै छु । सेनिटाइजर पनि मसँग छ ।’

महानगर शिक्षा विभागले असोज १० गतेदेखि विद्यालय औपचारिक रूपमै खोल्न सक्ने निर्णाय गरेपछि महानगर क्षेत्रका विद्यालयहरूले आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउन थालेको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । ‘महानगर शिक्षा विभागले नै आधिकारिक रूपमा विद्यालय खोल्न पाउने निर्णय गरेलगत्तै महानगरभित्रका विद्यालय केहीले भौतिक रूपमै पठनपाठन सुरु गरेका छन्, केहीले परीक्षा सञ्चालन गरीरहेका छन् ।

केहीले अझै वैकल्पिक विधिबाट पठनपाठन गरिरहेका छन्,’ कँडेलले नागरिकसँग भने, ‘विश्व निकेतनमा शिशु कक्षादेखि स्नातकसम्म करिब ४ हजार विद्यार्थी छन् । आइतबारदेखि विद्यालय खुलेको छ । विद्यार्थी रमाएर उत्साहित भएर स्कुल आएका छन् । असोज १४ गतेदेखि कक्षा ९ र १० को अनि असोज १७ गतेदेखि कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षा सञ्चालनको तयारीमा छौं ।’