सडकमा उठेर फिल्म उद्योगमा स्टार बन्नु जोकोहीको भाग्यमा लेखिएको हुँदैन । त्यो शिखरमा पुग्नका लागि लामो संघर्षको आवश्यकता पर्दछ । तर कतिपयका लागि चाँडै लोकप्रिय भएर त्यो लोकप्रियतालाई कायमै राख्न निकै संघर्ष गर्नुपर्छ ।

कुनै समयमा सामाजिक सञ्जालमा तहल्का नै मच्चाएकी गायिका रानु मण्डल अहिले पुनः सडकमा पुगेकी छन् । एक रेल्वे प्लेटफर्ममा गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनको भिडियो सार्वजनिक भएपछि भारतीय संगीतकार तथा गायक हिमेश रेशमियाले उनलाई त्यहाँबाट उद्धार गरेर फिल्ममा गीत गाउन मौका दिए । तर उनको बलिउड सफलता लामो समय टिक्न सकेन । अहिले रानु पुनः सडकमै फर्किएकी छन् ।

हालैमात्र रानुको एक नयाँ भिडियो सामाजिक सञ्जालमा आएको छ । जहाँ उनलाई कार बाहिर माइक बोकेर गीत गाइरहेको देख्न सकिन्छ । उनले पुरानै लुगा लगाएकी छन् । यो भिडियो हेरेका दर्शकले अनेकौ प्रतिक्रिया दिएका छन् ।

एक हातमा झोला बोकेकी रानू अर्को हातमा माइक बोकेकी छन् । एक प्रयोगकर्ताले रानूको घमण्डले उनलाई हानी पुगेको लेखेका छन् । अर्का प्रयोगकर्ताले रानुलाई कसैले सुन्न र हेर्न मन नपराउने गरेको उल्लेख गरेका छन् ।

रानू पश्चिम बंगलको राणा घाटको रेलवे स्टेसनको भिडियोबाट चर्चामा आएकी हुन् । उनले त्यहाँ गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् ।

त्यो भिडियोमार्फत रातारात स्टार भएपछि हिमेशले आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा गीत गाउने मौका दिए । त्यसपछि एक फ्यानले रानूसँग सेल्फी लिन खोज्दा रानू रिसाएकी थिइन् ।