रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आशिष चौधरीको मुख्य आम्दानीको स्रोत धान खेती हो । पाँच बिघा खेत भएका चौधरी, धान रोप्ने बेलामा उत्तम वर्षा भएको र मल पनि पाइएकाले धान उत्पादन बढ्ने आशामा थिए । तर झार गोडेपछि युरिया राख्ने समय जानलाग्दा पनि मल नपाएपछि अहिले चौधरीजस्तै अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।
धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले  भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् भने यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट पहिले जसरी मल ल्याउन पाएको छैन । बुधबार मात्रै रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकाबाट दुईजनाको घरबाट ७६ बोरा मल बरामद गरेर लग्यो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर तनाव पनि भयो ।कानूनी हिसाबले भन्सार छलेर ल्याइएको मल बरामद गर्नु प्रहरीको कर्तव्य भएपनि किसानहरु यो मान्न तयार छैनन् ।बरु किसानहरु प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको आरोप लगाउँछन् ।किसानले धानमा छर्नका लागि जोहो गरेको भारतीय मल प्रहरीले कानुनी दाउपेच देखाइ घर–घरमा खानतलासी गरेर कब्जा गर्नु सरासर गलत भएको धवलको धारणा छ ।

किसानलाई युरिया मल उपलब्ध गराउने जिम्मेवारी पाएका सरकारी निकायलाई मल दिन नसकेको र कालोबजारी गरेको आरोपमा कृषि मन्त्रीलगायत सम्बन्धित सबैलाई कारबाही गर्न उनले माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले अवैधरुपमा ल्याइने मल वा जुनसुकै वस्तु कानून अनुसार नियन्त्रणमा लिएर भन्सार चलान गर्नु प्रहरीको कर्तव्य भएको बताउँछन् ।