निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ । ‘उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एकरएक शाखा मात्र खुल्नेछन्,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्नेछन् ।’ ती शाखाबाट पनि सीमित बैंकिङ (आधारभूत) सेवा मात्र प्रवाह हुनेछ । शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणको आवतजावत कम हुने भएकाले उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्र सञ्चालन हुने उनले बताए । राष्ट्र बैंकले पनि न्यूनतम कर्मचारीबाट सम्भव भएसम्म कम शाखा सञ्चालन गरी आधारभूत सेवा दिन निर्देशन दिएको छ ।