अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन । होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका अध्यक्ष योंग लिउले भनेका छन्, ‘फक्सकनका लागि अझै पनि चीनले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर विश्वकै कारखानाका रुपमा रहने चीनका दिन सकिएका छन् ।’ रिपोर्टअनुसार फक्सकन कम्पनीले चीनभन्दा बाहिर आफ्नो उत्पादन क्षमता विस्तार गरिरहेको छ । कम्पनीको कूल उत्पादनमध्ये चीनबाहिर हुने उत्पादन अहिले ३० प्रतिशत पुगेको छ, जबकी गत जुन महिनामा उक्त हिस्सा केवल २५ प्रतिशत थियो । यो अनुपात आगामी दिनमा झनै बढ्नसक्ने उनले बताए ।