स्मार्ट कार्डको अभाव देखाउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण रोकिएको १६ महिना भईसक्यो । लाखौं सेवाग्राही लाइसेन्स लिन राजस्व तिरेको भौचर बोकेर सवारी चलाउन बाध्य छन्, त्यो पनि महिनौंसम्म ।

स्मार्टकार्ड कहिले आउने र छपाई भएर कहिलेदेखि वितरण हुन्छ भन्ने जवाफ यातायात व्यवस्था विभागका कर्मचारीसँग पनि छैन । विगत १६ महिनादेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण रोकिदा सेवाग्राहीहरु मारमा पर्दै आएका छन् । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइसकेको भए पनि कार्ड आइपुग्छ र लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीले कहिले कार्ड पाउँछन् भन्ने जवाफ कसैसँग छैन ।

विभागले आकस्मिक आवश्यकताका लागि मात्रै दैनिक ३५० कार्ड वितरण गर्दै आएको छ । सेवाग्राहीहरु १६ महिनादेखि कार्डका लागि राजस्व तिरेको भौचर बोकेर हिड्न बाध्य छन् । भौचरको भरमा सवारी चलाउने अवस्था लामो समय रहिररहनु उचित नभएको यातायात कार्यालय ठूलो भ¥याङका प्रमुख विमल भट्टराई बताउनुहुन्छ । पहिलो खेपमा ६ लाख र दोस्रो खेपमा अर्को ६ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको भए पनि कार्ड कहिले आईपुग्छ भन्ने यकिन छैन । सवारी चालक अनुमती पत्र समेत वितरण गर्न नसक्दा कर्मचारीहरु पनि सेवाग्राहीलाई सम्झाउँदा सम्झाउँदै हैरान भएको भट्टराई बताउनुहुन्छ ।