प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको पार्टी माओवादी केन्द्रले एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरिरहेका छन् । तर सत्तारुढ सहयात्री र प्रमुख प्रतिपक्षी दल भने प्रधानमन्त्री दाहालको कार्यकालसँग कत्ति सन्तुष्ट छैनन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिँदा ऐतिहासिक समर्थन पाउनु भएका प्रधानमन्त्री दाहलले सबै दलको साझा प्रधामनत्रीको रुपमा काम गर्ने उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरकारका न्यूनतम साझा कार्यक्रममार्फत मुलुकको अर्थतन्त्र सुधारका लागि नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका काम अघि बढाएर आमूल परिवर्तन गर्नेलगायतका दर्जनौं प्रतिवद्धता जनाउनुभएको थियो ।

द्वन्दकालिन मुद्दाहरुको टुंगो लगाउने, सुशासन कायम गर्ने, विकास निर्माणलाई गति दिनेलगायतका बाचा थिए प्रधानमन्त्री दाहालका । प्रधानमन्त्री दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले एक वर्षे कार्यकाललाई सफल भन्नु स्वभाविक पनि हो । आफैंले असफल भनेपछि सत्तामा बस्ने नैतिकता स्वतः गुम्छ । तर, सत्ता सहयात्री दलहरु र प्रमुख प्रतिपक्षी दल भने प्रधानमन्त्री दाहालको एक वर्षे कार्यकालप्रति कत्ति सन्तुष्ट छैनन् ।

एमाले प्रमुख सचेतक पदम गिरी पछिल्लो एक वर्षमा सम्झनलायक कुनै काम नभएको टिप्पणी गर्नुहुन्छ । बरु दाहाल सरकार अहिलेसम्मकै सबैभन्दा कमजोर र असफल भएको गिरिको जिकीर छ ।