त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको हो ।उक्त घटनापछि बनेको छानबिन समितिले त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र रमेश देउलालाई पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारी तथा प्लम्बरहरु छन् । यसअघि उक्त प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको थियो ।

सुन प्रकरणमा छानबिनका लागि अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिनुभयो ।गत मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गर्दा गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले र उनको बयानका आधारमा गोरखाकै मीनबहादुर घलेलाई नियन्त्रणमा लिएको थियो ।