नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्नुभयो । उहाँले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष ओलीले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताउनुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको बताउनुभयो । उहाँले नागरिकहरुले सरकारको संलग्नत छ भनेपनि सरकार बोल्न नसकेको बताउनुभयो । अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गर्नुभयो । उहाँले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताउनुभयो ।