नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दवाब दिने निर्णय गरेको पनि बताउनुभयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाई थियो ।

त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दवाब दिन नेताहरुले जोड दिएको बताउनुभयो । महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दवाब नै दिनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।