सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।

वायु सेवा कम्पनीले सिमरा विमानस्थलमा हवाई इन्धनको सेवा उपलब्ध हुनुपर्ने माग राखेपछि निगमले इन्धन उपलब्ध गराउन सुरु गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आजआइतबार हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । विमान कम्पनीको समस्यालाई ध्यानमा राखेर सिमरामा हवाइ इन्धन भर्ने सुविधा सुरु हुनु सकारात्मक भएको मन्त्री रिजालले बताए।जहाजले काठमाडौंबाट जाँदा फर्किंदा लाग्ने इन्धनसमेत भरेर जानुपर्ने बाध्यता थियो। अब विमान कम्पनीहरूलाई उडान र अवतरणका लागि सहज हुने मन्त्री रिजालले बताए। सिमरामा उडान भर्ने जहाजको सुविधाका लागि हवाई इन्धन सेवा सुरु गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘उपभोक्ताको सेवाका लागि सिमरामा हवाई इन्धन सेवा सुरु गरेका हौं,’उनले भने।भरतपुर र जुम्ला विमानस्थलमा समेत हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउने गृहकार्य भइरहेको थानीले बताए। सिमरा विमानस्थलबाट हाल दैनिक नौ वटा उडान हुने गरेको र एक हजारसम्म यात्रुहरू आवतजावत गर्ने गरेको सिमरा विमानस्थलले जनाएको छ।

सिमरामा हवाइ इन्धन भर्ने सुविधा उपलब्ध भएपछि सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने जानकारी नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुरले दिए।उनले खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानहरूलाई भैरहवा वा विराटनरसम्म लैजानुपर्ने बाध्यता पनि हटेको बताए।