जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार आज निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ । उनका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।