प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।

 

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा मन्तव्य दिनुहुने छ ।

 

 

 

 

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ । उहाँले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनुहुनेछ ।