नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गर्नुभयो ।

नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको बसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराब भन्ने हुनै नसक्ने तर्क गर्नुभयो । गल्ती गर्नेहरु खराब भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गर्नुभयो ।