नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा छ ।

कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो ।

नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रुचाउने अपेक्षा कम्पनीको छ । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ । सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम एप बन्न सक्छ । यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानूनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ ।