सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीका सदस्यहरु र अफिसियलहरुलाई सो रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको हो । ‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

त्यस्तैगरी आजको मन्त्रिपरिषद बैठकमा कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय पनि गरिएको जनाइएको छ । यो निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको प्रधानमन्त्रीले जनाएका छन् । त्यस्तैगरी प्रधानमन्त्री प्रचण्डले क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने खेलाडीहरुलाई बधाइ ज्ञापन गरेका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपालले युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेको थियो ।