नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।

“मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्”, उनेल भने । अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उनको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताए ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गरे ।