पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।

“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौं, त्यो आउनु पनि पथ्र्यो”, उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”