प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीबाट एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई सिफारिस गरेको छ । मल्लको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको हो ।
यहाँ अहिले गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एस तीन दलले दाबी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रबाट, पूर्वमन्त्री प्रेम आले नेकपा एस र पूर्वमन्त्री तथा कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर कांग्रेसबाट टिकटको दौडधुपमा छन् । तर, केन्द्रको कार्यदलमा सीट बाँडफाँट टुंगिनसकेकाले कसले पाउने अहिलेसम्म अन्योल छ ।

माओवादीले आफूहरूले पाउने दाबी गरिरहेका बेला नेकपा एसले प्रेम आलेको लागि पनि सशक्त लबिङ गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केही सांसद थप्न आलेको भूमिका रहेको भन्दै यहाँ आलेकै लागि छुट्टयाउने प्रयास भइरहेको कांग्रेसवृत्तमा चर्चा छ ।

नेपाली कांग्रेसले भर्खरै मात्र जिल्लामा कसैसँग तालमेल नगर्ने निर्णय गरेपछि यहाँ गठबन्धन दलबीच तिक्तता बढेको छ । गत बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।