रुपन्देहीको तिलोत्तमा छापा मारेर नियन्त्रणमा लिएका कामदार युवायुवतीलाई प्रहरीले छोडेको छ। त्यहाँ काम गर्ने ९ जना व्यवस्थापक तथा सिनियर कर्मचारी नियन्त्रणमा छन्। ९ जना मध्ये १ जना भारतीय हुन्। तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको कल सेन्टरमा प्रहरीले आइतबार दिउँसो छापा मारेको थियो। छापा मारेर त्यहाँ काम गर्ने डेढसय भन्दा बढी किशोर किशोरी तथा युवा युवतीलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो। काम गर्नेहरु १५ देखि २२ वर्षसम्मका छन्।

सोधपुछपछि सम्पर्कमा रहने गरी उनीहरुलाई छोडेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए।  ‘जागिरे सबैलाई छोडेका छौँ। सिनियर केहीलाई ल्याएर सोधपुछ गरिरहेका छौँ। यो कल सेन्टरको बारेमा पुराना स्टाफसँग बुझ्दैछौँ’ उनले भने, ‘यसको अलि गहन अनुसन्धान गर्नुपर्ने छ। टेक्निकल मान्छे पनि चाहिन्छ।’

विदेशीको लगानीमा तिलोत्तमाको जानकीनगरमा तीनवटा फ्लाट भाडामा लिएर कल सेन्टर चलेको थियो। यहाँ २ सयवटा जति कम्प्युटर छन्।
तिलोत्तमामा रहेको यो कल सेन्टरमा भारतीय ग्राहकहरू लक्षित हो। कल सेन्टर मार्फत भारतीयहरुलाई लोन उपलब्ध गराउने गर्दथ्यो। एक दुइ हप्तालाई लोन दिने र तोकिएको समयमा लोन नतिरेमा व्याकमेल गर्ने गर्दथ्यो। लोन नतिर्नेको फोटो इडिट गरेर पोर्न साइटमा राखिदिन्छु भनि धम्की दिने गतिविधि कल सेन्टरबाट हुने प्रहरीको भनाइ छ।