अर्बपति इलोन मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। ट्वीटरले यसअघि भएको खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको भन्दै मस्कले यस्तो निर्णय गरेका हुन्। विश्वका सबैभन्दा धनी मस्कले गत अप्रिलमा ट्वीटरसँग खरिद सम्झौता गरेका थिए।

मस्कले ट्वीटरले स्पाम र नक्कली खाता कति छन् भन्ने जानकारी आफूलाई नदिएको कारण आफू सम्झौताबाट पछि हटेको बताएका छन्। ट्वीटरले भने उक्त सम्झौता कार्यान्वयनको लागि कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएको छ। यसअघि गत मेमा मस्कले अस्थायीरुपमा यो सम्झौता होल्डमा रहेको र आफू स्पाम र नक्कली खाताको विवरणको प्रतीक्षामा रहेको बताएका थिए।

ट्वीटरले आफ्नो प्लेटफर्मममा पाँच प्रतिशतभन्दा कम मात्र नक्कली खाता रहेको बताएसँगै त्यसको पुष्टिका लागि मस्कले उक्त विवरण मागेका थिए। मस्कको घोषणासँग ट्वीटरको शेयरको भाउ ७ प्रतिशतले घटेको छ।