संयुक्त राष्ट्रसंघले रुसी सेनाले युक्रेनमा जारी राखेको आक्रमणका कारण करिव १४ लाख बालबालिकाले युक्रेन छाडेको बताएको छ।

२४ फेब्रुवरीदेखि हालसम्म हिसाब गर्दा हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका पाइएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस देश छोड्न बाध्य भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।

पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्, ’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।

‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’उनले भने। युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा छन्। ‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने ।