दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि पत्ता लागेका कोभिड–१९ का भेरिएन्टमध्ये बी.१.१.५२९ धेरै भिन्न प्रकृतिको र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरेका छन् । कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन । वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।