ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ । शनिबार राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडी आसपास विकसित भएको (न्यून चापीय क्षेत्र)का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो ।

उक्त दिन नेपालको प्रदेश नं १, २ र बागमती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिनेछ ।