इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए ।

शुक्रबार दुबईमा भएकाे खेलमा जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीकर भरतले अन्तिम बलमा पाँच रन चाहिँएको अवस्थामा आवेश खानलाई छक्का प्रहार गर्दै जित पक्का गराए । बेंगलोरलाई अन्तिम ६ बलमा १५ रन आवश्यक परेको थियो ।

बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरत ५२ बलमा ३ चौका र ४ छक्का सहित ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ३३ बलमा ८ चौका सहित ५१ रनमा अविजित रहे । चौथो विकेटका लागि भरत र ग्लेन म्याक्सवेलले १ सय ११ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । एवि डिभिलियर्स २६, देवदत्त पाडिक्कल शून्य र विराट कोहली ४ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४३ रनमा आउट भए । शिम्रन हेटमायर २२ बलमा २ चौका र २ छक्का सहित २९ रनमा आउट भए । ऋषभ पन्त १० र श्रयस ऐर १८ रन बनाए ।