आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएको छ ।

सारजाहमा बिहीबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिबम डुबेले १८ रन बनाउन बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम  माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए ।

जितसँगै कोलकत्ता १४ खेलमा १४ अंकसहित  चौथो स्थानमा उक्लिएको छ । उसले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा छ ।