दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपिएल) काे फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडियटर्स पहिलो पटक फाइनलमा पुग्न नसकि बाहिरिएको छ । उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबार टियु क्रिकेट मैदानमा जितको लागि १ सय २० रनको सामान्य विजयी लक्ष्य पछ्याएको पोखराले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका साहन अर्चाचिगेले रोहित कुमार पौडेललाई १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गर्दै फाइनल यात्रा पक्का गराएका थिए ।

पोखराका साहन अर्चाचिगे ४४ बलमा ७ चौका सहित सर्वाधिक ५३ रनमा अविजित रहे । बायाँ हाते विपिन रावल ३४ बलमा ३ चौका र १ छक्का सहित ४० रनमा अविजित रहे ।

चौथो विकेटका लागि विपिन र साहनले ८८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । ओपनर तथा पोखरा प्रमुख ब्याट्सम्यान रिचार्ड लेभी चौथो ओभरको पाँचौं बलमा १४ रनमा रन आउट भएका थिए । स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाएका थिए । ननस्ट्राइकका लेभी रन लिनेक्रममा केहि अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए ।

लेभीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । स्पिनर भुवन कार्कीले आठौं ओभरमा दुई विकेट लिँदै पोखरालाई दबाबमा राखेका थिए । दोस्रो बलमा युवा ओपनर रित गौतम एलबीडब्लूको धरापमा परे । १९ बल खेलेका रितले ६ रन बनाउँदै आउट भए । चौथो बलमा लोकेश बम शून्यमा बोल्ड आउट भएपछि पोखरा ३५–३ को अवस्थामा पुगेको थियो । उक्त कमजोर अवस्थाबाट विपिन र सहानले उत्कृष्ट ब्याटिङका साथ जित पक्का गराए ।

पोखरा फिल्डिङ पनि निकै कमजोर रह्यो । विपिन रावलले लगातार दुई जीवनदान पाएका थिए । धाम्मिका प्रसादको १५ औं ओभरको दोस्रो बलमा दुर्गेश गुप्ताले २३ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा लङअनमा शार्विन मुनिआन्दीले क्याच ड्रप गरे । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।