आफ्नो कीर्तिमानी खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको हाे ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका  खेलभरमा खासै प्रभाव जमाउन नसकेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

इन्डिसनका काभानीले प्राप्त बललाई फ्रेन्डलाई दिए । फ्रेडले क्रस गरेको बलमा रोनाल्डोले हेड गर्दै जेसी लिङ्गार्डलाई दिए । लिङ्गार्डले त्यो बल फेरि रोनाल्डोलाई दिए । त्यहि बलमा रोनाल्डोले गोल गर्न सफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलकिपरले रोक्ने प्रयास गरेपनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसअघि ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले कुनै गल्ती नगरी गोल गरे । तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलमा कप्तानी गरिरहेको ब्रुनो फर्नान्डेजको चलाखीपूर्ण फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।