पर्वत- १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।

उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ । टावर ढलेसँगै तल्लो मोदी-१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करिब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको छ ।