चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ ।निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको तथा केन्द्रीय सरकारबाट आर्थिक सहयोग नभएकाले निर्माणको काम रोकिएको उनले बताए । भीआईपी प्याराफिट बनाउने काम गरिरहेका थियौं, चल्नै नसक्ने अवस्था आयो, अहिले काम रोकिएको छ, फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौं, जनस्तरबाट रकम उठ्ने सम्भावना पनि छैन, सरकारले दिँदैन, कहाँबाट कामलाई जारी राख्ने ?’रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ ।

अध्यक्ष कट्टेलकाअनुसार तीन हजार दर्शकले हेर्न मिल्ने पहिलो चरणको प्याराफिटको काम सकिएको छ ।मैदानमा पिच बाहेकको काम सकिएको उनको भनाइ छ । ‘कोभिडको महामारीका बीच गत वर्षको साउनदेखि कामलाई गति दिएका थियौं, मुख्य रुपमा आर्थिक समस्या नै भएपछि काम अघि बढाउने परिस्थिति भएन’ कट्टेलले भने, सरकारसँग हारगुहार गर्न लागिरहेको छु ।

आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना बनाएर पठाउन आफू लागिरहेको कट्टेलले बताए । रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भैसकेको छ । १६ करोड २ लाख रकम तिर्न बाँकी छ । ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँमात्रै भुक्तानी गरिएको रंगशाला निर्माण परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन भनेर २०७६ माघमा गरिएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम उठेको घोषणा तत्कालीन समितिले गरेको थियो । तर कबोल गर्नेहरुले अहिलेसम्म जम्मा २० करोड २५ लाख रुपैयाँ दिएका छन् । अरु रकम उठाउने विषयमा निरन्तर फलो गरे पनि उनीहरुले रकम नदिँदा रंगशालामा आर्थिक संकट परेको हो ।