पोलिस तथा बायर्न म्युनिखका ३२ वर्षीय स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी ‘फुटबलर अफ द इयर’ अवार्ड पाएका छन्। फुटबल म्यागजिन किकरले आइतबार लेवान्डोस्कीलाई उक्त अवार्ड प्रदान गरेको हो।

जर्मनीका खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन्। लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जितेका हुन्।

उनले ३ सय ५६ भोट पाएका थिए। मुलरले ४१ र हालाण्डले ३८ भोट पाएका थिए।

गत सिजन जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए। च्याम्पियन टिम बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए ।

उनले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए।

लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन्। मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गर्दै कीर्तिमान बनाएका थिए।