कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले संसदमा विश्वासको मत लिएपनि थप प्रकृया अघि वढ्न सकेको छैन ।

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भई शपथ लिएका देउवाले साउन ३ मा प्रतिनिधिसभाबाट १ सय ६५ सांसदको समर्थनसहित विश्वासको मत लिएका थिए । त्यस लगत्तै उनले सरकारलाई पुर्णता दिने प्रयास गरेपनि त्यो सम्भव भएको छैन ।

सुरुवातका दिनमा जसपाको आधिकारीक्ता विवादका कारण सरकार विस्तारमा समस्या भएको वताउँदै आएका सत्ता गठवन्धनका नेताहरुले त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाललाई पनि सरकारमा सहभागि गराउन निर्णयको प्रतिक्षा गरिरहेको वताउँदै आएका थिए। तर, उनीहरुले जे वताए पनि सत्ता गठवन्धनमा रहेका प्रमुख दलहरुको आन्तरिक विवादकै कारण सरकार गठन हुन नसकेको पुष्टि हुँदै गएको छ ।

सरकारमा जाने विषयमा कुरा नमिल्दा पार्टी भित्र तिव्र विवाद देखिएको छ।

माओवादी : प्रचण्ड र नारायणकाजीको वोलचाल वन्द
माओवादी केन्द्रमा सरकारमा सहभागि हुने विषयमा तिव्र विवाद छ। अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र औपचारिक निर्णयबिनै अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई पठाएका छन । स्थायी कमिटीमा औपचारिक निर्णयबिनै मन्त्री पठाएको भन्दै नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाइसकेका छन ।

माओवादीभित्रको लफडाबारे अध्यक्ष दाहाल आफैंले सार्वजनिक गरेका छन । ‘म मन्त्री बन्न दबाब दिने मान्छेको हूलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ! हाम्रा सांसद सबैलाई मन्त्री चाहिएको छ,’ केहि दिनअघि पेरिसडाँडामा आयोजित एक कार्यक्रममा दाहालले भने, ‘हामीले पाउने बढीमा ७ जना हो । यहाँ मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बदमासै हो भन्न बेरै लगाउँदैनन । चार पाँच दिनदेखि म मानसिक तनावभित्र छु ।’

यति मात्र होईन, सरकारमा कस्लाई पठाउने भन्ने विषयमा मतभेद हुँदा अध्यक्ष दाहाल र नेता श्रेष्ठविच वोलचाल वन्द भएको नेताहरु वताउँछन् ।  सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको पार्टी स्थायी समिति बैठक स्थगित गरेको विषयमा समेत पार्टीमा असन्तुष्टी बढेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले आफूलाइ जानकारी नगराई बैठक स्थगित गरेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा नै आपत्ति जनाएका छन् । श्रेष्ठले वर्तमान सरकारमा माओवादी पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहेका छन् ।

सत्ता गठबन्धनभित्र नारायणकाजी श्रेष्ठ रुचाइएका पात्र होइनन् । उनलाई मन्त्रीमण्डलमा सहभागी गराउन स्वयं प्रधानमन्त्री शेरबहादुर देउवासमेत इच्छुक छैनन् । यहि विषयमा माओवादीभित्र नारायणकाजी श्रेष्ठले आफुलाइ बाइपास गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डसँग चित्त दुखाएको र सिधा बोलचाल समेत बन्द भएको स्रोतको दाबी छ ।

यहि विवादका कारण माओवादी केन्द्रले मन्त्रीका लागि नाम एकिन गर्न सकेको छैन ।