नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले कुनै पनि अवस्थामा गठबन्धनलाई धोका नदिने स्पष्ट पारेका छन् ।

आज विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै नेता नेपालले सर्वोच्च अदालतमा दायर भएको रिटको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेपनि गठबन्धनबाट बाहिर नजाने र धोका नदिने दाबी गरे । उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री अफर आइसक्यो। माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् । माधव नेपाल धोका दिने मानिस होइन । जुन प्रक्रिया अघि बढेको छ । यसमा कुनै पनि धोका हुनेछैन । हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा दायर रिटका बारेमा हामी कुनै पनि अवस्थामा धोका दिन्नौं ।’

नेता नेपालले अब एमाले एकताको सम्भावना समेत कमजोर बनेको संकेत गरे । उनले भने, ‘प्रधानमन्त्री पद दिएपछि माधव नेपाल विचलित हुने हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । तर म त्यसमा छैन । भोलि केपी ओलीसँग गएर फस्नुहुन्छ भन्ने लाग्या छ भने त्यस्तो हुन्न । वाक्क दिक्क भएका छौँ । त्यत्तिकै एउटा मनस्थितीमा पुगेका होइनौँ । मन उता शरिर उता होइन ।’