चितवनको रामनगर र तनहुँको देवघाट जोड्ने ठिमुरामा निर्माणाधीन पुल भत्किएको छ।

आइतबार बिहान १० बजेतिर पुल भत्किँदा एक जना भारतीय नागरिक विजय यादवको ज्यान गएको छ।

४३ वर्षीय यादवको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार अन्य दुई जना बेपत्ता भएका छन्। सात जना घाइते भएको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा परेका सबै भारतीय नागरिक हुन्। पुल निर्माणमा खटिएका १४ जना मजदुरमध्ये चार जना सकुशल छन्।

नदीमा बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको एसपी अधिकारीले नेपालखबरलाई बताए।

चितवनको ठिमुरा र तनहुँको घिनाघाट जोड्नेगरी त्रिशुली नदीमाथि पक्कि मोटरेवल पुल निर्माण भइरहेको छ। यो पुल यसअघि चैत २३ गते राति पनि भत्किएको थियो।

रातको समयमा भत्किएकाले त्यतिबेला भने मानवीय क्षति हुन पाएको थिएन।

२ सय मिटर लामो र १० मिटर चौडाई रहेको पुल २०७१ कात्तिकमा निर्माण थालिएको हो।

१६ करोड ५३ लाख रुपैयाँ लागतको पुल बनाउने ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा लिएका छन्।