नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा कम्पनीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ। बैंक र बीमा कम्पनीबीच ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले सम्झौताअनुसार काउन्टर स्थापना भएको हो।

यसका साथै कम्पनीमा कार्यरत कर्मचारीलाई बैंकले सहुलियत दरमा विना धितो कर्जा उपलब्ध गराउने सम्झौता पनि भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन्। बैंकले देशैभर २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउन्टर, १४३ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय, डिजिटल माध्यमबाट सेवा दिँदै आएको छ।